prabhu-bank-final-ecrosscheck

काला व्यापारीलाई नियन्त्रणमा लिनोस् : सभापति श्रीवास्तव

काठमाडौ । संसदीय उद्योग वाणिज्य उपभोक्ता संरक्षण तथा श्रम समितिको सभापति विमल श्रीवास्तवले काला व्यापारीलाई नियन्त्रणमा लिन निर्देशन दिएका छन् । सभापति श्रीवास्तवले तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित ‘महंगी नियन्त्रणमा सरकारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका छन् ।
चाडपर्वको मुखमा उपभोक्ताहरु अत्यधिक महंगीको मारमा परेको र व्यापारीहरुले बजारमा एकाधिकार जमाउन खोजेको प्रसङ्गले आम उपभोक्तावादीहरु मूल्यबृद्धिको मारमा परेको सन्दर्भलाई ध्यान दिँदै तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालमा ‘महंगी नियन्त्रणमा सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति श्रीवास्तवमा सो कुराको निर्देशन दिएका छन् ।
श्रीवास्तवले आफू भर्खरै समितिको सभापति भएको र भएलगत्तै समस्यै समस्या लिएर सबैजना आफूसामू आएको प्रसङ्ग उल्लेख गर्दै के गर्ने भन्ने विषयमा आफैं अन्योलमा परेको बताउँदै व्यापारीहरुको एकाधिकार चल्न नहुने बताए । उनले भने– यसले आम उपभोक्ताको अधिकार कुण्ठित हुन्छ ।
सभापति श्रीवास्तवले बजारमा मूल्यहरु ‘मनोपोली’ भएकाले प्रमुख जिल्ला अधिकारी र वाणिज्य विभागका महानिर्देशकलाई अनुरोध गर्दै काला व्यापारीहरुलाई नियन्त्रणमा लिनुस् र आफ्नो कार्यकाल ऐतिहासिक बनाउनुहोस् । कार्यक्रममा श्रीवास्तवले भने–‘कालाव्यापारीको पक्षमा जुनसुकै निकायबाट दबाब आए पनि आफ्नो दायित्व पूरा गर्नुहोस् तपाईहरुको नाम स्वर्णिम अक्षरले लेखिनेछ ।’
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुगमन प्रमुख यमलाल भुषालले सरकार आफ्नो नीति तथा कार्यक्रमको योजनामा सचेत भएको बताउँदै आम नागरिकको हितका निम्ति बजार अनुगमन र अनुगमनमाथिको अनुगमन गरिरहेको सन्दर्भ उल्लेख गर्दै सहज र सुलभ रुपमा सामानहरु उपलब्ध गराउन सम्बन्धित निकायहरुलाई निर्देशन समेत दिए ।
कार्यक्रममा काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले चाडपर्वको बेला उपत्यकाका सबै नाकाहरुमा चेकजाँच कडाई गरेको र शान्ति सुरक्षा, उपभोग्य वस्तुहरुलाई गुणस्तरीय छ छैन सम्बन्धित निकायबाट चेकजाँच गरी मात्र प्रयोगमा ल्याउन आफू कार्यरत संस्थाले सचेततापूर्वक काम गरिरहेको बताए । प्रमुख जिल्ला अधिकारी आचार्यले जनताले अत्याधिक उपभोग गर्ने वस्तुहरु गुणस्तरीय र सुलभ मूल्यमा प्राप्त गर्नु उनीहरुको अधिकार भएकोले त्यसतर्फ आफूहरु सचेत भएको बताए ।
आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्व नजिकिरहेको बेला मात्र नभएर विभागले आफ्नो उद्देश्य अनुरुपका कामहरु गर्दै आइरहेको बताउँदै चाडपर्वको बेला थप जिम्मेवार बन्दै विभिन्न निकायहरुमा अनुगमन काम तीव्र बनाएको बताए । कार्यक्रममा महानिर्देशक गौचनले सरोकार राख्ने सम्पूर्ण निकायहरुले बजारमा देखिएका बेथितिहरुलाई न्यूनीकरण गर्नका लागि आफूले देखेका ठगीलगायतका घटनाहरुलाई विभागलाई जानकारी गराएर साथ दिई सहयोग गर्न आग्रह गरे । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्दप्रसाद चौलागाईले उखु किसानहरुले उखुको अबौं रकम चाडपर्वको बेलामा समेत पाएका छैनन् भन्दै तिनै उखुको रकमसमेत नतिर्ने व्यापारीहरुको पक्षमा एकाधिकार गराउन सरकारले साथ दिएको हो भने त्यो आम नागरिकको लागि घातक हुने बताउँदै ‘त्यस्ता व्यापारीहरुले सहुलियत सहितको चिनीको जिम्मा पाउँदा जनताले कस्तो राहत पाउलान् ?’ भन्ने प्रश्न गरेका थिए । कार्यक्रममा चौलागाईले एकाधिकार जमाउने व्यापारीले वितरण गर्न खोजेको चिनीमा सल्फरजस्ता मानव जीवनमा हानी पु¥याउने तत्व भएको सन्दर्भ उल्लेख गर्दै कार्यक्रममा सहभागि सबैको ध्यान केन्द्रित गर्दै सरकारले सहुलियत दरको पसल शुरुवात गर्दा एकाधिकार जमाउने र संसद्मा समेत दर्जनौं सांसदहरुले माफियाका आरोप लगाएका व्यक्ति अतिथिको मन्तव्य दिइरहेको देख्दा लोक हाँसेकाले यो विषयमा छानविनसमेत हुनुपर्ने माग गरे ।
काठमाडौ प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले चाडपर्वको बेला शान्ति–सुरक्षामा खलल ल्याउने र कालाबजारी गर्नेहरुलाई नेपाल प्रहरीले कानूनी कारबाही गर्न कुनै कसुर बाँकी नराख्ने दाबी गरे ।
त्यसैगरी उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सरकारको अर्थ मन्त्रालयले एकाधिकार गर्ने कालाबजारीहरुको पक्षमा निर्णय गरेकाले बजार सरकारको नियन्त्रणभन्दा बाहिर जान थालेको बताए । उनले सरकारी निकायहरुलाई बलियो बनाउनुपर्नेमा त्यसो नगरी गुणस्तरहीन चिनीलगायतका खाद्य पदार्थहरु एकाधिकार जमाउने व्यापारीहरुको पक्षमा निर्णय हुन पुग्दा आम उपभोक्ताहरुको अधिकार कुण्ठित भएको बताए । सरकारी निकायको लगाम लगाएका निकायले गुणस्तरयुक्त सामानहरु दिने र केही कमी कमजोरी गरे सरकारले आफ्नो निर्देशन सहजढंगले पालना गराउन सक्ने निकाय बलिया नबनाउने हो भने सरकारी निकायहरु धराशयी बन्दै जाने कुरामा आम नागरिकहरु चिन्तित बनेको विषयलाई उल्लेख गरे ।
कार्यक्रममा साल्ट टेडिङ्ग कर्पोरेशन लिमिटेडका उपकार्यकारी निर्देशक कुमार राजभण्डारीले सरकारको निर्देशनअनुसार आफ्नो संस्थाले गुणस्तरयुक्त सामानहरु बेच्दै आइरहेको बताउँदै उपभोक्ताहरुको चाहना र सुझाव अनुसार कर्पोरेशन अगाडि बढ्ने बताए । उपकार्यकारी निर्देशक राजभण्डारीले चिनीको मूल्यमा केही फेरबदल आएको भन्ने गुनासा आएकाले सरकारको निर्देशनअनुसार चिनी बेच्न केही दिन रोकिएको समेत बताए ।

प्रकाशित समय २१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु