prabhu-bank-final-ecrosscheck

स्थानीय सरकारसँग काँधमा काँध मिलाएर काम गरिरहेका छौं

बुबा रामशरण भगत र ममी जानकीदेवी भगतका सुपुत्र हुनुहुन्छ गजेन्द्रकुमार भगत । त्रियुगा उद्योग वाणिज्य संघको अध्यक्ष रहनुभएका भगतको जन्म २०४१ सालमा सप्तरीमा भएको हो । हाम उदयपुरको गाईघाट त्रियुगा नगरपालिका–११ डिएम गेटका स्थायी बासिन्दा भगतले मास्टरसम्मको अध्ययन गर्नुभएको छ । त्रियुगा उद्योग वाणिज्य संघले गरेका काम, आगामी दिनमा गर्न सकिने सम्भावना र चुनौतीलगायत विविध विषयमा केन्द्रित रहेर अध्यक्ष भगतसँग सम्पादक टंक कार्कीले गरेको कुराकानी ।

० त्रियुगा उद्योग वाणिज्य संघको अध्यक्ष हुनुभन्दा पहिले के गर्नुहुन्थ्यो ?

मैले त्यतिबेला व्यापार गरिरहेको थिएँ । म त्यो बेला पनि त्रियुगा उद्योग वाणिज्य संघको साधारण सदस्य थिएँ । साधारण सदस्य हुँदोखेरि नै सबै साथीहरूले तपाईले उद्योग वाणिज्य संघ हाँकिदिनुप¥यो, लागिदिनुप¥यो भन्नुभयो । समस्याहरू धेरै छन्, ती समस्याहरूलाई सम्बोधन गरिदिनुप¥यो भन्ने हिसाबले पहिलो चुनाव भयो, त्यसबेला जितेर अहिले हामी सबै टिम मिलेर काम गरिरहेका छौं । मेरो यो दोस्रो कार्यकाल पनि हो ।

० त्रियुगा उद्योग वाणिज्य संघको पहिलो पटक अध्यक्ष हुँदा के–के काम गर्नुभयो, जसले गर्दा तपाईंलाई दोस्रो कार्यकालमा पनि अध्यक्ष बन्न सहयोग पुग्यो ?

पहिलो कुरा त के भन्दाखेरि हामी व्यापारीमात्र होइन, हामी उपभोक्ता पनि हौं । यदि हामी चामल बेच्छौं भने दालको लागि हामी उपभोक्ता हौं । त्यस्तै यदि हामीले इलेक्ट्रोनिक्स पसल गर्छौं भनेदेखि हामी कोल्ड ड्रिक्सको उपभोक्ता हुनसक्छांै । त्यही किसिमले मैले के गरें भन्दाखेरि शुरुमा आउने बित्तिकै जुन ‘डेट एक्स्पाएर’ सामानहरू हुन्, धेरै दिनसम्मका सामानहरूचाहिं पसलमा बसिराख्ने त्यस्तो चिजहरूलाई मैले पहिले सबै व्यापारीहरूलाई बोलाएर ‘एवारनेस’ गर्ने काम गरें । करसम्बन्धीका धेरै समस्याहरू धेरै साथीहरूमा, उद्योगी–व्यापारीहरूमा थियो, त्यो समस्यालाई सबैभन्दा पहिले मैले हल गरें । साथीहरूलाई शिक्षाको विषयमा बढी ‘ट्रेन्ड’ गरें । आफू ‘क्लियर’ भएपछि अनिमात्र अनुगमनको कुरालाई अगाडि बढाउनु पर्दछ भनेर हामीले प्रत्येक व्यवसायीलाई ‘डोर टु डोर’ गएर कर सम्बन्धी शिक्षा दियौं, मूल्य यति राख्नुपर्छ भनेर त्यो सम्बन्धी शिक्षा दियौं हामीले । ‘डेट एक्स्पाएर’ सामानहरू राख्नुहुन्न, अखाद्य वस्तुहरू राख्नुहुन्न भनेर जानकारी गराएर फेरि प्रशिक्षण सँगसँगै अनुगमन पनि ग¥यौं हामीले । अहिले हामी जिल्लामा उत्कृष्ठ भएर पनि बसेका छौं र त्यो अनुसार काम पगि गरेका छौं । हामीले व्यवसायको क्षेत्रमा मात्रै काम गरेनौं । सँगसँगै सामाजिक क्षेत्रमा पनि विभिन्न कामहरू ग¥यौं । सरकारलाई सहयोग गर्ने कुरामा धेरै यस्ता कामहरू गरेका छौं हामीले– कहिले आँखा शिविर गर्ने, कहिले सरसफाईको क्षेत्रमा काम गर्ने, कहिले डस्टबिन बाँड्ने, कहिले प्लाष्टिक झोला नियन्त्रण गर्ने जस्ता सामाजिक उत्तरदायित्वका कामहरू पनि गरेका छौं ।

० उदयपुरलाई केन्द्रीकृत गरी ठूल–ठूला उद्योगधन्दाहरू खोलेर हजारौं–हजारलाई रोजगारी उपलब्ध गराउनसक्ने खालका कामको लागि के कस्ता पहलहरू गर्नुभएको छ ?

पहिले चाहिं बोर्डरको छेउछाउका जिल्लाहरू सप्तरी, सिरहा आदिमा कच्चा पदार्थ पनि आउन सजिलो हुने, जग्गा पनि सस्तो भएका कारणले बढी त्यतातिर उद्योगधन्दाहरू खोल्ने चलन थियो तर जब मधेशमा आन्दोलन भयो, त्यसपछि यहाँको बजार सेफ लाइनमा रहेको हुनाले गर्दाखेरि धेरै उद्योगीहरू उदयपुरमा आएका छन् । सँगसँगै के भन्दाखेरि जग्गाको औद्योगिक कोरिडोर थिएन यहाँ । हामीले पहिलोचोटी के कुरा उठायौं भनेदेखि जहाँ–जहाँका साथीहरू जस्तो बेल्टारका साथीहरूलाई पनि पहल गर्न भन्यौं, कटारीका साथीहरूलाई पनि पहल गर्न भन्यौं । तर हामीले उदयपुरमा २५/२६ बिगाहामा औद्योगिक क्षेत्र भनेर नगरपालिकासँग समन्वय गरेर नीतिगत निर्णय गरायौं । अहिले हामीले त्यसलाई औद्योगिक ग्राम भनेर नाम दिएका छौं । त्यसको पूर्वाधार बनाउन कहाँबाट आर्थिक स्रोत जुटाउन सकिन्छ, सरकारी क्षेत्रबाट जुटाउन सकिन्छ कि निजी क्षेत्रबाट जुटाउन सकिन्छ कि भनेर त्यो विषयमा हामी लागिरहेका छौं । यहाँचाहिं म्याक्सिमम यो सेफ ठाउँ भएकाले पनि भोलिको एउटा करिडोरको रुपमा स्थापना भएकोले गर्दाखेरि पनि धेरै लगानीकर्ताहरू यहाँ लगानी गर्न उत्सुक छन् । हामीले पर्यटन क्षेत्रमा होस् या ट्रेडिङ इण्डष्ट्रि होस्, जे–जेमा हुन्छ, सबैसँग पहल गरिरहेका छौं ।

० उदयपुरमा कुन त्यस्तो चिज पहिचान गर्नुभएको छ, जुन कच्चापदार्थले यहाँका स्थानीयहरूलाई सहयोग पुग्ने होस् ?

उदयपुरको सबैभन्दा महत्वपूर्ण कुरा भनेको ‘लाइम स्टोन’ हो । त्यो कुरा सबैलाई थाहा भइसकेको छ । यहींबाट नै तीनवटा फ्याक्ट्री–इण्डष्ट्रि चलिराखेका छन् । उदयपुर सिमेन्टले यहींको कच्चा पदार्थ उपयोग गरिरहेको छ । त्यसैगरी कसमस सिमेन्ट, मारुती सिमेन्टले समेत यहींको कच्चा पदार्थ प्रयोग गरिरहेको छ । अर्को एउटा चाहिं मिर्चैयामा बन्दैछ सौर्य सिमेन्ट, त्यसले पनि उदयपुरकै कच्चा पदार्थ प्रयोग गर्नेवालामा छ । अर्को कुरा के भन्दाखेरी हामीले तीनवटा चिजलाई अलिक बढी प्राथमिकता दिएर स्टेक होल्डरहरूसँग बसेर यी तीनवटा कुराहरूलाई अगाडि बढाउन सकियो भनेचाहिं उदयपुर जिल्ला आत्मनिर्भर जिल्ला बन्न सक्छ भनेर ‘थ्री बी कन्सेप्ट’ ल्याएका छौं । ती तीन चिजमा बाख्रा, बाँस र बेसार । उदयपुरको बाख्रा–खसीको मासु अरु ठाउँको भन्दा अलि टेष्टी छ । त्यसले गर्दाखेरी बाख्रालाई अगाडि बढाउने कि भनेर हामीले लगानी पनि गरेका छौं । त्यहाँ उद्योग वाणिज्य संघले सरकारसँग मिलेर काम गरिरहेको छ र ५०–६० लाखको लगानी भइसकेको छ । अहिले पनि पोखरामा उदयपुरको खसी भनेपछि त्यहाँ बढी घुइँचो हुने गर्छ । अर्कोचाहिं बाँस हो । तराईको बाँसभन्दा उदयपुरको बाँसचाहिं म्याक्सिमम टिकाउ छ । यसमा घुन नलाग्ने, लामो समयसम्म टिक्ने भन्ने छ । त्यसैगरी साइजमा पनि फरक छ । त्यसैले बाँसलाई अगाडि बढाउने भन्ने कुरा छ । त्यसैगरी बेसारको कुरा पनि छ । उदयपुरको बेसार अन्य ठाउँको भन्दा गुणस्तरीय छ । अन्य ठाउँको बेसार एक चम्चा लगाउनु र उदयपुरको बेसार आधा चम्चा लगाउनु, त्यो आधा चम्चाले नै अन्य ठाउँको एक चम्चाको भन्दा बढी कलर दिन्छ । यी ‘थ्री बी’ कन्सेप्टलाई अगाडि बढाउनुपर्छ भनेर बेला–बेलामा आवाज उठायौं, छलफलमा बस्यौं । अहिले नयाँ संरचना आयो । अहिले सबै हामीले मेयर सा’पहरूसँग बसेर कुरा गरिरहेका छौं । केही कुरामा त हामीले काम नै अगाडि बढाइसकेका छौं । सँगसँग अदुवाको कुरा पनि भइरहेको छ । त्यस्तै सुन्तलाको सम्भावनाको कुरा पनि छ । यावत कुराहरू धेरै छ । यहाँको हावापानी पनि राम्रो छ । तेजपात पनि राम्रो छ । तर यहाँको ब्राण्ड के हो भनेर त्यसको विकास गर्न सकेका छैनौं । अब हामी केमा लागिरहेका छौं भने उदयपुर जिल्लामा एउटा चिनाउने चिज पनि चाहियो, कुनचाहिं हुनसक्छ । जस्तै– तेजपातको कुरा, तेजपात यहाँको धेरै राम्रो छ । तेजपातबाट तेल निकाल्न पनि सकिन्छ । त्यसलाई सेन्टको रुपमा प्रयोग गर्न सकिन्छ । ती कुराहरूलाई अहिले हामी टिम नै लागिरहेका छौं त्यसमा ।

० गाईघाटमा डेरी प्रोडक्टहरूको निकै अभाव भएको देखिन्छ, त्रियुगा उद्योग वाणिज्य संघका सदस्यहरूले त्यो क्षेत्रमा लगानी गर्नुभएको छ कि छैन ?

लगानीकर्ताहरूलाई हामीले बारम्बार अनुरोध गरिरहेका छौं तपाईंहरू आइदिनुस्, यो चिजमा ‘पोसिबिलिटी’ छ है उदयपुरमा भनेर भनिरहेका छौं । भर्खरै पर्यटन क्षेत्रमा रौतालाई डेभलप गर्नुपर्छ भन्ने विषयमा हामी बारम्बार लागिरहेका थियौं, त्यही कुरा अहिलेचाहिं त्यहाँको स्थानीय सरकारले त्यसलाई मोडेलको रुपमा म्यापिङ गर्ने, त्यसको नक्साङ्कन गर्ने कामहरू सबै गरिराखेको छ । सँगसँगै हामीले पनि के गरिराखेका छौं भने रौताको बाटो यदि क्लियर भयो भने रौताको विकास छिटो गर्न सकिन्छ, तराई बेल्टका जति पनि जिल्लाहरू छन्, तिनीहरूलाई क्यास गर्न सकिन्छ भनेर पर्यटनको विकास लागि अहिले हामीले आईएमई गु्रपका अध्यक्ष चन्द्र ढकाललाई अनुरोध गरेका छौं । उहाँले काठमाडौंको चन्द्रागिरीमा पर्यटकीय विकास गर्नुभएको छ, चन्द्रागिरी केवलकार स्थापना गरेर । केही दिनमा उहाँको एउटा टोली आउँदैछ । त्यसले पनि उदयपुरमा रोजगारी सिर्जनादेखि लिएर अन्य कुराहरूको विकास हुन्छ भन्ने लाग्छ । रौता बढ्नु भनेको पनि उदयपुरको विकास हुनु हो । त्यसले गर्दाखेरी त्यतातिर पनि लागिराखेका छौं । यहाँले भनेजस्तो डेरीको कुरा, डेरी पनि अहिले जर्सी गाईहरू, भैंसी पाल्ने काम भइरहेको छ । हामीले पनि उहाँहरूलाई यसरी गर्दा हुन्छ भनेर बेलाबेलामा ट्रेनिङ ल्याइदिने काम पनि हामीहरूले गरिराखेका छौं । धेरै नमूनाको काम अहिले उदयपुरमा भइरहेको छ । तर उच्चस्तरीय नमूना बन्न सकेको छैन । त्यो काममा अबको एक वर्षमा लगभग एउटा रिजल्ट ल्याउँछौं हामीले । उदयपुरको कुनै पनि मायाको चिनो जस्तो यहाँका साथीहरू बिदाई हुँदाखेरी अथवा सरकारी कर्मचारी विदाई हुँदाखेरी, हाम्रै चेम्बरकै साथीहरू उदयपुरमा आउँदाखेरी यो नै चिज भनेर दिन सकेका छैनौं, त्यसले गर्दाखेरी त्यसलाई ब्राण्ड बनाउनु जरुरी छ । रोजगारी सिर्जना गर्नु जरुरी छ । हाम्रै उद्योग वाणिज्य संघमा आबद्ध भएका साथीहरू पनि विभिन्न साना साना स्केलमा चाहिं जस्तै मसला फ्याक्ट्रीहरू, चियाका प्याकेजिङहरू ल्याउने, बाहिरबाट कच्चा पदार्थ भए पनि ल्याउने, तेजपातकै सेन्टको कुरा गरें, भन्दाखेरी पुलको काम हामीले गरिदिइराखेका छौं । लगानी कहाँबाट ल्याउने, लगानी भएन भने बैंकसँग कसरी ऋण लिने, त्यो पनि गरिराखेका छौं र सँगसँग हामीसँग पनि अहिले एउटा रेमिट्यान्स प्रोजेक्ट आउँदैछ । त्यसको मूलभूत उद्देश्य भनेकै रोजगारी सिर्जना गर्ने नै हो । त्यसले पनि ४–५ हजार मान्छेलाई उदयपुर जिल्लामा रोजगारी सिर्जना गर्न सक्छ र व्यापारमा पनि बढावा हुन्छ जस्तो मलाई लाग्छ ।

० त्रियुगा उद्योग वाणिज्य संघको सम्बन्ध ‘सेन्टर’सँग कस्तो छ, त्यहाँबाट कत्तिको ‘सपोर्ट’ पाउनुभएको छ ?

सरकारसँग ‘डाइरेक्ट’ समन्वय भनेको ‘सेन्टर’ अर्थात नेपाल उद्योग वाणिज्य महासंघको नै हुन्छ । उहाँहरूले कुनै कार्यक्रम ल्याउनुभयो भने हामीलाई पनि दिनुहुन्छ र त्यहींको ‘नम्स’अनुसार हामीले काम गरिराखेका छौं । हाम्रो समन्वयचाह्रिं केन्द्रसँग हुन्छ, तर गर्नुपर्नेचाहिं जिल्लाले आफैंले नै हो । उहाँ पनि स्रोत साधन केही छैन । उहाँहरू पनि आफ्नै तरिकाले पूरै संरचना चलाउनुपर्छ । हामी पनि उहाँहरूको खासै आशमा हुँदैनौं । जे गर्नुपर्ने हो, हामी जिल्ला लेभलबाटै गर्छौं । जस्तै अहिले सीसी क्यामेराको काम भइरहेको छ । भर्खरै हामीले ६–७ लाखको सीसी क्यामेरा लगायौं । अहिले फेरि १२ लाखको चाहिं सीसी क्यामेरा लगाउँदैछौं । भन्नाले हामी व्यापारीबाटै थोरथोरै रकम उठाएर यस्तो सानोतिनो कुराहरूमा काम गरिरहेका छौं ।

० स–साना किसिमका विभिन्न कामहरूले पनि रोजगारी सिर्जना गर्न ठूलो सहयोग पुगिरहेको हुन्छ, तर २–४ वटा गाई पालेका कृषकलाई थप ४–५ वटा थपेर ९–१० वटा बनाउनुप¥यो भने बैंकिङ प्रक्रियामा जाने ज्ञान खासै हुँदैन, झन्झटिलो प्रक्रियाका कारण कृषकले सहजरुपमा ऋण पाइरहेका हुँदैनन् बैकिङ क्षेत्रबाट पनि । यस्तो अवस्थाको न्यूनीकरणका लागि तपाईंहरूले कत्तिको सहजीकरणका कामहरू गरिरहनुभएको छ ?

मेहेनती मान्छेको के हुन्छ भने उसले आफ्नो ‘लाइन एजेन्सी’ को–को हुन् भनेर बुझ्छ र हामीसँग सम्पर्क गर्छ । सम्पर्क गरेपछि यो ठाउँमा ट्रेनिङ हुनसक्छ । यो ठाउँमा जानुभयो भने तपाईंले ‘लोन’ पाउनुहुन्छ भनेर हामी जति पनि टिम छौं, उहाँहरूलाई सहयोग गर्छौं र सम्बन्धित ठाउँसम्म पु¥याइदिने काम गर्छौं । कहिलेकाहीं सरकारी सुविधाहरू आउँछ, त्यो ठाउँमा कसरी जाने, डकुमेन्टेशन कसरी गर्ने भन्ने कुरा हामी आफैं लागेर पनि गरिदिन्छौं । कहिलेकाहीं महिला उद्यमीको घरेलु मातहत आउँछ । त्यो अनुरुप हामीले पनि साथीहरूलाई पत्राचार गरेर उहाँका डकुमेन्टहरू के के चाहिन्छ भनेर हामी सबै कुरामा सहयोग गर्छाैं । उहाँहरूलाई चाहिने सेमिनारहरू, गोष्ठीहरू लौ हामीलाई यस्तो चाहियो भन्नुहुन्छ । कहिले व्यूटिपार्लरको ट्रेनिङहरू आउँछ । अहिले भर्खरै हामीले होटलको लागि कुकको टे«निङ गराउन खोजिरहेका छौं हाम्रो आफ्नै लगानीमा । त्यस्तै कहिलेकाहीं हामीलाई इलेक्ट्रिशियनको आउँछ, सिटिइभिटीबाट सर्टिफाइड हुनेगरी तालिमहरू पनि प्रदान गरिरहेका छौं । त्यो डकुमेन्टेशन गरिदिने काम त हाम्रो कर्तव्यभित्र नै पर्छ ।

० अन्त्यमा केही त्यस्तो कुरा भनिदिनुस् कि यहाँका जनताले अहिलेसम्म थाहा नपाएका हुन्, त्रियुगा उद्योग वाणिज्य संघसँग र जनताका दैनिक जीवनसँग जोडिएका कुराहरू हुन् ?

यो एकदमै महत्वपूर्ण प्रश्न हो । हामीले अहिलेसम्म थुपै्र ‘पोजेटिभ’ कामहरू गरेका छौं । जस्तै हाम्रो स्टक अहिले पनि तराईको सिराहा, सप्तरी बन्द भएको अवस्थामा पनि हाम्रो स्टक वर्षदिनलाई ठ्याक्कै पुग्ने छ । त्यस्तो कुराहरूमा हामी कहिल्यै पनि कमजोरी गर्दैनौं । हामीले हाम्रो स्टकिष्टलाई क्लियररुपमा भनेका हुन्छौं तपाईंहरूले स्टक राख्नुस्, तपाईंलाई कुनै समस्या भयो भने हामी सहयोग गर्छौं । घरी फोहोर व्यवस्थापनको कुरामा, घरी माक्स चाहियो, कुचो चाहियो यो अन्य कुनै पनि कुरा चाहियो, हामी स्थानीय सरकारसँग हातमा हात, काँधमा काँध मिलाएर काम गरिरहेका छौं । तर के हो भन्दाखेरी केही कुरा हामीसँग उपलब्ध नभएको पनि हुनसक्छ, स्थानीय सरकारको आफ्नो ‘ट्रयाक’ हुन्छ, केही कुरा हामीले पोजेटिभ देख्दा पनि उहाँहरू नजाने अवस्था हुनसक्छ । हो त्यसमा चाहिं कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ भन्ने कुरा पनि बेला बेलामा उहाँहरूसँग कोअर्डिनेशन गर्ने काम पनि हामीले गरिराखेका छौं । उदयपुर जिल्लामा गर्ने कुरा धेरै छ, सम्भाव्यता धेरै छ, गर्ने काम धेरै बाँकी छ, त्यसमा हामी लागिराखेका छौं । आशा गरौं, ४–५ वर्षभित्रमा समृद्ध उदयपुर बन्न सक्छ जस्तो लाग्छ मलाई ।

प्रकाशित समय १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु