prabhu-bank-final-ecrosscheck

हाम्रो रणनीति उदयपुर सिमेन्ट उद्योगलाई प्रतिस्पर्धात्मकरुपमा अगाडि ल्याउने नै हो

नवलकिशोर शाह उदयपुर सिमेन्ट उद्योग लिमिटेडको नायब महाप्रबन्धक हुनुहुन्छ । एसियामै गुणस्तरले राम्रो भनेर परिचित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडा सिमेन्टलाई यो अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएका शाहले इण्डियाको इण्डियन स्कूल अफ माइन्सबाट १९८९ मा माइनिङ्गमा इन्जिनियरिङ्ग गर्नुभएको छ । १९९० देखि उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा आबद्ध भएर हालसम्म कार्यरत शाहसँग उदयपुर सिमेन्ट उद्योगमा रहेका चुनौती, आगामी दिनमा गर्नुपर्ने सुधार, प्रतिस्पर्धी बन्न खेल्नुपर्ने भूमिकालगायतका विविध विषयमा क्रसचेकका सम्पादकले गरेको कुराकानी ।

० तपाईं उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा प्रवेश गर्नुहुँदा त्यतिखेरको अवस्थाचाहिं कस्तो थियो साथै राजनीतिक हस्तक्षेप, उत्पादकत्वको अवस्था के थियो ?

म ‘ज्वाइन’ गर्दाखेरी त्यतिखेर यो उद्योग निर्माणाधीन अवस्थामै थियो । निर्माण अवधि यसको ३६ महिना रह्यो । त्यसपछि २०४९ साल मंसिर २६ गतेबाट यसको व्यवसायिक उत्पादन शुरुवात भएको हो ।

० नेपालको नम्बर एक गुणस्तरयुक्त सिमेन्ट भनेर जताततै प्रचार गरिए पनि यो उद्योगले स्थापनाकालदेखि धेरै वर्षसम्म भनेजस्तो नाफा आर्जन गर्न सकेको देखिएन, के कारणले त्यस्तो भएको थियो ?

शुरुको अवस्थामा यसले राम्रै उत्पादन गरेको थियो । २०५१÷०५२ मा यसले ३३ लाख बोरा वार्षिकरुपमा उत्पादन गरेको थियो । त्यो अहिलेसम्मकै सबभन्दा ‘हाइहेस्ट’ हो । त्यो भनेको समग्र उत्पादन क्षमताको ६० प्रतिशत हुन आउँछ । त्यसपछि विविध कारणले मेशिन नयाँ हुँदाहुँदै पनि क्रमशः उत्पादनमा कमी हुँदै–हुँदै गयो । फेरि २०५८ सालमा राम्रै उत्पादन भयो । त्यसबेला वार्षिकरुपमा २७ लाख बोरा उत्पादन भयो । त्यसपछि २०५१÷५२ र २०५७÷५८ को बीचमा करिब–करिब ठीकै थियो । कुनै बेला २५ लाख बोरा, कुनै बेला २० लाख बोरा उत्पादन हुँदै गयो । २०५९ सालपछि यसको वास्तविक उत्पादनमा ह्रास आउँदै गयो २०६३÷६४ सालतिर करिब–करिब १३÷१४ लाख बोरा अर्थात् सबभन्दा कम भनेको त्यो हो ।

० यहाँ ‘पोलिटिकल इन्फ्यूल्स’ चाहिं कत्तिको हुन्छ ?

यहाँ उद्योगको उत्पादनमा सञ्चालक समिति वा राजनीतिक शक्तिको प्रभाव हुँदै हुँदैन । यहाँ मन्त्रालयको पनि कुनै हस्तक्षेप हुँदैन । जे–जति गर्नुपर्ने यहाँका कर्मचारीले नै गर्नुपर्ने हो । यहाँको व्यवस्थापनले गर्नुपर्ने हो । यहाँको मुख्य कारण के भने वर्षैपिच्छे व्यवस्थापन पनि परिवर्तन भइरह्यो । २०५८÷५९ पछि बारम्बार व्यवस्थापन परिवर्तन भइरह्यो, हरेक एक वर्ष, डेढ वर्ष, दुई वर्षमा । त्यसले गर्दा एउटा स्थिरता आएन । जसले गर्दा कर्मचारीमा पनि जुन हिसाबको कामप्रतिको लगाव हुनुपर्र्ने त्यो पनि भएन । त्यसले गर्दा यो क्रमशः घट्दै गयो । २०५८÷५९ पछि २०७३÷७४ र २०७४÷७५ मा आएर चाहिं हामीले २४ लाख बोराभन्दा बढी वार्षिकरुपमा उत्पादन गर्न सफल भएका छौं ।

० अहिले त इलेक्ट्रिसिटीको उपलब्धता सहज होला नि, किन उत्पादनचाहिं शुरुवाती अवस्थाको जस्तो गर्न सक्नुभएन ?

त्यो शुरुवातीको अवस्थामा त इलेक्ट्रिसिटीको उपलब्धता एकदमै सहज थियो । तर त्यसपछिका वर्षहरूमा चाहिं इलेक्ट्रिसिटीको उपलब्धता पनि क्रमशः खस्किंदो अवस्था रह्यो । त्यो पनि उद्योगले सिमेन्ट उत्पादन गर्ने क्षमता अनुसारको उत्पादन हुन नसक्नुको मुख्य कारण थियो । हरेक वर्ष चैत्रदेखि जेठसम्म सिमेन्ट उत्पादनको पिक सिजनमा त सबभन्दा बढी समस्या भनेको इलेक्ट्रिसिटीका कारणले हुँदोरहेछ । यो एक वर्षमात्र होइन, विगतका वर्षहरूदेखि नै चलिआएको हो, चैत्रदेखि जेठ–असारसम्म विद्युत्को ‘म्याक्सिमम डिस्टव्र्यान्स’ हुन्छ र यसले डाइरेक्ट उत्पादनमा असर पार्दछ ।

० उदयपुर सिमेन्ट उद्योगको आफ्नै चुनढुंगा छ, कति वर्षसम्मलाई यो चुनढुंगाले धान्ने देख्नुहुन्छ ?

२०४९ सालमा यो शुरु भएको हो । अहिलेसम्म हामीले ४० लाख टन चुनढुंगा प्रयोग गरिसकेका छौं । यो भनेको ४ मिलियन टन भयो । अहिले हाम्रो रिजर्भ भनेको करिब–करिब ७२ मिलियन टन छ । यो हिसाबले हेर्ने हो भने २४–२५ वर्षमा करिब ४ मिलियन टनमात्रै खर्च भएको छ । यसरी हेर्दा हामीलाई अझै १०० वर्षभन्दा बढी चुनढुंगाको सहजै उपलब्धता हुन्छ ।

० अहिले निजी क्षेत्रबाट केही उद्योगहरू वार्षिक १ लाख २० हजार मेट्रिक टन उत्पादन क्षमताका उपकरणहरू ल्याएर उत्पादन गर्न २० औं अर्बका सिमेन्ट उद्योगहरू स्थापना भइरहेका छन्, तर हामी भने ८०० मेट्रिक टन क्षमतामै सीमित भएर बसिरहेका छौं, उदयपुर सिमेन्टको आफ्नो उत्पादन बृद्धि गर्ने गरी उपकरणहरू थप्ने कुनै योजना छ ?

हामीले ३ हजार टनसम्मको एउटा प्लानचाहिं उद्योग मन्त्रालयमा पेश गरेका छौं । तर त्यो एप्रुभ भयो भने हामीले यसलाई सहजै ३ हजार ‘मेट्रिक टन’ क्षमतामा सञ्चालन गर्न सकिन्छ ।

० उदयपुर सिमेन्ट उद्योगमा काम गरिरहँदा उत्पादनको क्षेत्रमा सबैभन्दा ठूला चुनौतीचाहिं के के हुन् ?

अहिले निजी क्षेत्रबाट पनि ठूला–ठूला उद्योगहरू स्थापित भइसकेका छन् । अब हाम्रो लागि सबैभन्दा चुनौती भनेको सेल्स कसरी हुन्छ भन्ने नै हो ।

० निजी क्षेत्रका सिमेन्ट उत्पादक कम्पनीहरूले अधिकृत बिक्रेताहरूलाई विभिन्न स्किमहरू ल्याएर ‘सेल्स टार्गेट’ दिएका हुन्छन्, त्यो टार्गेट पूरा गर्ने अधिकृत बिक्रेताहरूलाई रसिया, थाइल्याण्ड, फिलिपिन्स, अष्ट्रेलियालगायतका विभिन्न देशहरूमा भ्रमण गराइदिन्छ कम्पनीले । त्यस्तै सञ्चार माध्यमहरू पत्रपत्रिका, रेडियो, टेलिभिजन, एफएम, अनलाईन आदिमा व्यापक प्रचारप्रसार गर्छन् । राजमिस्त्रीहरू, अधिकृत बिक्रेता र उत्पादकबीच बेला–बेलामा भेटघाट तथा तालिम लगायत उपलब्ध गराउँछन् र आफ्नो व्यापारमा अत्यधिक बृद्धि गरिरहेका छन् । के उदयपुर सिमेन्ट उद्योगचाहिं यी कुरामा चुकेको हो ?

ती क्षेत्रमा अब हामी पनि प्रवेश गरिसकेका छौं । केही दिन अगाडिसम्म हामीले यो क्षेत्रमा पटक्कै ध्यान दिएका थिएनौं । अहिलेसम्म उत्पादन भएको सिमेन्टको बिक्री वितरणमा हामीलाई खासै समस्या थिएन । तर अब आउने नयाँ ठूल–ठूला उद्योगहरू होङ्सीलगायतका सिमेन्टहरू ती आक्रामकरुपमा प्रस्तुत भइराखेका छन् । त्यसपछि अझ यसमा हामीलाई चुनौती थपिन्छ । अब हामीले पनि प्रचार–प्रसार नगरीकन कुनै उपाय नै छैन । हामी पनि निजी क्षेत्रका कम्पनीहरूसँग प्रतिस्पर्धी नभई सुखै छैन । अब हाम्रो रणनीति प्रतिस्पर्धात्मकरुपमा अगाडि आउने नै हो ।

० केही वर्षअगाडि उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक पद खाली हुँदाको बखतमा तपाईंलाई निमित्त महाप्रबन्धक भएर काम गर्ने अवसर मिलेको थियो, कत्तिको सहजरुपमा त्यो भूमिका निर्वाह गर्नुभयो ?

त्यतिबेला मलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी थियो । त्यो बेला एउटा निमित्तले गर्नुपर्ने काम मैले राम्रैसँग निभाएँ । प्रोडक्सन पनि राम्रै भयो । तर मलाई आशा थियो महाप्रबन्धकको पूर्ण जिम्मेवारी पाउँछु भन्ने, त्यो सम्भव भएन । तर जे भए पनि काम राम्रो गरें, काम गर्नसक्छु भन्ने पूर्ण आत्मविश्वास छ ।

० तपाईंलाई धेरैले ‘वेटिङ जिएम’ भनेर बाहिर चर्चा–परिचर्चा गरेको सुनियो, के जिम्मेवारी पाउनुभयो भने सहजै नेतृत्व लिन सक्नुहुन्छ ?

म पनि एउटा ‘वेटिङ जिएम’को क्यान्डिडेट हो । सरकारले मलाई त्यसको जिम्मेवारी दियो भने राम्रैसँग ह्याण्डिल गर्नसक्छु भन्ने लाग्छ ।
० उदयपुरको पहिचान हो गैंडा सिमेन्ट, अझ भनौं अहिलेसम्म एसियामै गुणस्तरका हिसाबले नाम चलेको सिमेन्ट पनि हो, तर अहिलेकै अवस्थामा रहिरह्यो भने अब हामी हराउँछौं कि भन्ने लाग्छ कि लाग्दैन ?
हामीले गुणस्तरमा धेरै सुधार गरेका छौं । हामीले गुणस्तरलाई ‘रिभाइभ’ गरिरहेका छौं । जापानिज सामानहरू हामीले ल्याएका छौं । मलाई लाग्छ तत्कालै केही त्यस्तो अप्ठ्यारो स्थिति आउला वा बजारबाटै हराइएला जस्तो चाहिं मलाई लाग्दैन ।

० अन्त्यमा केही कुराहरू भन्नुहुन्छ कि ?

अहिले सबैतिर चुनौती छन् । हिजोका दिनमा जुन काम गर्ने शैली, तरिका थियो, त्यो हिसाबले अब सर्भाइभ गर्न सकिंदैन । अब नयाँ रुपमा प्रस्तुत भएपछि मात्रै, सबैसँग प्रतिस्पर्धी ढंगले अगाडि जान सकियो भने फ्याक्ट्रीले पनि प्रगति गर्छ । त्यसैमा हामी सबैको भविष्य जोडिएको छ । र, अन्त्यमा उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडा सिमेन्टको व्यापारिक सफलताका लागि सञ्चार माध्यममार्फत् कुरा राख्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद ।

प्रकाशित समय २१:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु