prabhu-bank-final-ecrosscheck

तिनीहरूलाई हामीले कारवाही गरिरहेको अवस्था छ

२०४६ सालमा वन अधिकृतको रुपमा जागिरमा प्रवेश गरेर हाल वन विभागअन्तर्गत जिल्ला वन कार्यालय उदयपुरमा जिल्ला वन अधिकृत तथा ज्वाइन्ट सेक्रेटरीको रुपमा कार्यरत हुनुहुन्छ विष्णुप्रसाद भण्डारी । वन व्यवस्थापनमा एमएस्सी गर्नुभएका भण्डारी सक्रिय वन व्यवस्थापनको पक्षपाती हुनुहुन्छ । नेपालमा पनि चीनमा जस्तै वैज्ञानिक ढंगले पर्यावरण जोगिने गरेर रुखविरुवा लगाउनुपर्ने मान्यता राख्नुहुन्छ उहाँ । समृद्धिका लागि वन, रुख रोपौं वन जोगाऔं, चीनको जस्तो वैज्ञानिक वन व्यवस्थापन गरौं भन्ने मान्यता राख्नुहुने जिल्ला वन अधिकृत तथा ज्वाइन्ट सेक्रेटरी भण्डारीसँग क्रसचेकका सम्पादकले गरेको कुराकानी ।

० अहिले तपाईं जिल्ला वन अधिकृत (डिएफओ) तथा ज्वाइन्ट सेक्रेटरीको रुपमा कार्यरत हुनुहुन्छ । अहिलेको वनमन्त्रीले हामी काठमा आत्मनिर्भर हुन चाहन्छौं भन्नुभएको छ । हुन त उदयपुर जिल्ला काठमा आफैंमा आत्मनिर्भर जिल्ला हो तर पनि देशव्यापीरुपमा हेर्ने हो भने हामीले विश्वका विभिन्न मुलुकबाट वार्षिक अर्बौं रुपैयाँको काठहरू आयात गरिरहेका छौं । हरियो वन नेपालको धन भन्ने अनि विदेशबाट काठ आयात गर्ने, यो कतिसम्म उपयुक्त हो ? काठमा आत्मनिर्भर हुनका लागि के कस्ता कार्यक्रमहरू ल्याउनुपर्ला ?

यो अत्यन्त समसामयिक र जल्दोबल्दो इस्युको प्रश्न हो । हुन त म एउटा वन प्राविधिक भएको नाताले, वन व्यवस्थापनको एउटा विद्यार्थी भएको नाताले मैले यी ईश्युहरू संगठनभित्र उठाउँदै आएको थिएँ । तर हामीले भनेको स्थिति सुनुवाई हुँदो रहेनछ । वन क्षेत्र भनेको धेरै ‘स्टेकहोल्डर’हरू भएको क्षेत्र हो । यसमा राष्ट्रिय–अन्तराष्ट्रिय चासो पनि हुँदो रहेछ । यसले गर्दा यहाँ जंगलहरू आधा दुहेर छोडेको गाईजस्तो धेरै पहिलादेखि नै यसको व्यवस्थापन भएन, सदुपयोग हुन नसकेको अवस्था हो । जसले गर्दा हामीले यहाँ जति काठहरू उत्पादन गर्न सक्थ्यौं, त्यो हामीले गर्न सकेनौं । विभिन्न किसिमले ‘एडहक डिसिजन’हरू भए केन्द्रबाट, कहिले हरियो रुख ननिकाल्ने पाँच वर्षसम्म । यस्ता खालका निर्णयसम्म हुन गए नेपाल सरकारबाट । तर अहिले पछिल्लो समय यो वर्षदेखि अलिकति उत्साह जागेको छ । किनभने समृद्धिको लागि वन भनेर विदेशबाट आउने काठहरूलाई जुन प्रतिस्थापन गर्ने विषयहरू अहिले माननीय मन्त्रीज्यूले अगाडि सार्नुभएको छ, त्यसले हामीलाई उत्साह थपेको छ । अब त्यसो भन्दैगर्दा के हुनुपर्छ भने फेरि यति कार्यक्रम, कार्यविधिहरूमा चाहिं तादात्म्यता हुनुपर्छ, ‘हार्मोनाइजेशन’ हुनुपर्छ, सिङ्क्रोनाइज्ड हुनुपर्छ । यदि सिङक्रोनाइज्ड भएनन् भनेदेखि के हुन्छ भने फेरि अगाडि बढ्दैन । नीतिगतरुपमा त भयो तर कार्यविधिहरू झन्झटिला छन्, यदि एउटा सुकेको रुख निकाल्नको लागि यदि उपभोक्ताले बाहिर बेच्ने हो भने क्षेत्रीय वन निर्देशनालयको अधिकृत आएर हेर्नुपर्छ, प्रतिवेदन दिनुपर्छ । त्यो किसिमले वन व्यवस्थापन सफल हुँदैन, अगाडि बढ्दैन ।

० उदयपुर जिल्ला काठ चोरी निकासीको हिसाबले पनि अलि ‘सेन्सेटिभ’ जिल्ला हो, उदयपुरको पूर्वी क्षेत्रबाट बढी काठ चोरी तस्करी हुने गरेको छ, तपाईंले त्यसलाई कत्तिको नियन्त्रण गर्नुभएको छ ?

अहिले धेरै नै ‘कन्ट्रोल’ भएको छ । कुन कारणले पनि बढी त्यो तस्करी भयो भने धेरै मानिसहरू अरु विकल्प नभएर काठको कारोबार गर्छन् । यो कुरा मैले सधैं भन्दै आइरहेको छु । वन ऐन त्यति कडा छ, मान्छे गएर थुनिनुपर्छ, जंगली जनावरले आक्रमण गर्छ, वन कर्मचारीहरूले दुव्र्यवहार गर्छन् कति ठाउँमा त्यो देखिएको छ । त्यस्तो रिस्क मोलेर वन क्षेत्रबाट काठ–दाउरा चोरेर ल्याउने भन्ने कुरा के हो भने अर्को ‘अल्टरनेटिभ’ नभएर हो । अहिले वैदेशिक रोजगारीका राम्रो सम्भावनाहरू छन् । विकास निर्माणका अवसरहरू छन् । त्यसले गर्दा पहिलेभन्दा अवश्य पनि चोरी–तस्करी घटेको छ । दक्षिणतिरबाट विशेष गरेर चुरे क्षेत्रमा चोरी निकासी हुने गरेको थियो तर अहिले हामीले समूहरूलाई हस्तान्तरण गरिसकेपछि उहाँहरूको यति राम्रो ‘ओनरसिप’ छ कि त्यहाँ उहाँहरूले आफ्नै सम्पत्तिझैं त्यसलाई हेरेको अवस्था छ । त्यसो भन्दै गर्दा चोरी निकासी हुँदैन भन्ने होइन, यदाकदा छिटफुट घटनाहरू हुन्छन्, तिनीहरूलाई हामीले कारवाही गरिरहेको अवस्था छ ।

० पछिल्लो समय विभिन्न स्थानीय निकायहरूले वन्यजन्तुहरू पालिरहेका छन्, तपाईंहरूसँग कसैले स्वीकृति लिएका छन्, वन ऐनले चाहिं के भन्छ ?

हामीले कसैलाई पनि स्वीकृति दिएका छैनौं । वर्तमान ऐनले त्यसको अनुमति दिंदैन । उहाँहरूले मौखिक प्रस्ताव हामीकहाँ ल्याउनुभएको थियो, लिखित प्रस्ताव कहाँ आइसकेको छैन । उहाँहरूले के भन्नुभएको थियो भने टुहुरा, घाइते वन्यजन्तुहरूलाई हामीले ‘रेक्स्यु’ गर्छौं र उपचार गर्छौं । त्यो सिलसिलामा पर्यापर्यटनको पनि काम गछौंं भन्नुभएको थियो तर त्यो लिखितम आइसकेको अवस्था छैन ।

० वन मन्त्रालय र वन मन्त्रीले कमजोर खालका काठहरूलाई ‘ट्रिटमेन्ट’ गरेर भए पनि विदेशबाट आउने काठहरूलाई रोक्ने प्रयास भइरहेको भन्ने उद्घोष गर्नुभएको थियो, मन्त्रालयबाट तपाईंहरूलाई कुनै निर्देशन आएको छ त्यस्तो कार्यको लागि ?

त्यो खालको ‘प्रोग्राम’हरूलाई दोलखा, सिन्धुपाल्चोक, काभे्रलगायतका मध्यपहाडी जिल्लाहरू जहाँ वल्र्ड बैंकको ‘सपोर्ट’मा, विभिन्न दातृ निकायहरूको ‘सपोर्ट’मा गएको २० र ४० को दशकमा वृक्षारोपण भए, तिनीहरूबाट उत्पादित ‘सफ्ट उड’हरूको ट्रिटमेन्टको लागि त्यो विषय उठान भएको हो । त्यो सायद प्रक्रियामा अगाडि गइसकेको होला । यो जिल्लामा त्यति ‘सफ्ट उड’ छैन, सबै ‘हार्ड उड’हरू भएको हुनाले ‘ट्रिटमेन्ट’को त्यति आवश्यक छैन । त्यो योजनाहरू अहिले हामीकहाँ केही छैन ।

० यो जिल्लामा वृक्षारोपणचाहिं यहाँहरूले कसरी अगाडि बढाइरहनुभएको छ ?

यहाँले अघि नै पनि उल्लेख गरिसक्नुभयो, उदयपुर जिल्ला वन क्षेत्रमा धनी जिल्ला हो । वृक्षारोपणको लागि त्यतिबिघ्न यहाँ खाली ठाउँहरू छैन । तापनि हामीले केन्द्रबाट आएका कार्यक्रमहरू चाहिं यहाँ ‘इम्प्लिमेन्टेशन’ गरेका छौं । यसै वर्ष पनि हामीले २० हेक्टरको एउटा क्षेत्रमा वृक्षारोपण गर्न सफल भयौं । महाभारत सामुदायिक वनमा समूहको सक्रियतामा हामीले २० लाख रुपैयाँ ‘सपोर्ट’ ग¥यौं, उहाँहरूले चाहिं समूहले नै तारबारसहितको वृक्षारोपण गर्नुभएको छ ।

० अन्तर्राष्ट्रिय क्षेत्र अर्थात् चीनका कतिपय भूभागमा हेर्दाखेरी वृक्षारोपण पनि ‘चक्रीय खेती प्रणाली’ जस्तो गरी यो वर्ष केही हजार विरुवा लगाउने, फेरि अर्को वर्ष अर्को ‘लेभल’मा केही हजार थप्ने, क्रमशः पन्ध्र–बीस वर्षसम्म विरुवा थपिरहने अनि शुरु वर्ष रोपेको विरुवा बीस वर्षको हुँदा काठ प्रयोग गर्नका लागि तयार भइसकेको हुन्छ । क्रमशः पहिलो वर्ष रोपिएका रुखहरू निकाल्ने फेरि अर्को लगाउने, यसो गर्दा सधैंभरी काठको अभाव पनि हुँदैन र पर्यावरणमा पनि असर पर्दैन । के नेपालमा त्यस्तैगरी विरुवा लगाउन सम्भव छैन ?

त्यो ‘प्लेन ल्याण्ड’का लागि हो । त्यो ‘हिल्ली एरिया’मा चाहिं ‘स्लोपिङ’ ढंगले लगाइएको हुन्छ । त्यसरी नर्वेमा पनि लगाइएको छ । पहिलो वर्ष, दोस्र्रो वर्ष, तेस्रो वर्ष गर्दै करिब ३०–४० वर्षसम्म विरुवा लगाउँदै जाने । ४० औं वर्ष पुग्दा पहिलो वर्ष लगाएको विरुवा काट्ने रुख भइसकेको हुन्छ । त्यसलाई काटेर फेरि नयाँ विरुवा थप्दै जाने, एवं रितले हरेक वर्ष पुराना रुख काट्दै जाने र नयाँ विरुवा थप्नै जाने गर्नुपर्दछ । त्यसो गर्दा ‘एकोसिस्टम’मा पनि कुनै असर पर्दैन । मैले पनि त्यो गर्नुपर्छ भनेर आवाज उठाइरहेको छु । चुरेमा चाहिं त्यो सम्भव छैन । महाभारतसम्म त्यो गर्न मिल्छ । एक वर्ष एउटा स्ट्रिप काटिदियो, अर्को वर्ष अर्को स्ट्रिप काटिदियो । हरेक वर्ष एक–एक वटा स्ट्रिप काट्दै जाने र अर्को नयाँ लगाउँदै जाने । तर यहाँ त के छ भने अलि ‘प्रोपोगाण्डा’ पनि बढी छ क्या । ओठे ‘कन्जरभेसनिष्ट’ भन्छु म तिनीहरूलाई । ओठे ‘कन्जरभेसनिष्ट’ हरूले रुख छुनै हुँदैन, रुख एउटा ‘स्ट्याचु’ हो, छुनै नहुने चिज हो भन्ने यस्तो खालको धारणा छ । हामीले, वन विभागले रुख रोपौं वन जोगाऔं भन्यौं । हाम्रो नारा पनि राम्रो हो । अहिले ‘रियलाइजेशन’ भएको छ । त्यो खालको ‘एक्टिभ फरेस्ट म्यानेजमेन्ट’ भन्छु म । सक्रिय वन व्यवस्थापनमा हामी पनि जानुपर्छ । चाइनाको अनुशरण हामीले गर्नुपर्छ । त्यसो भएमा वनबाट आर्थिक समृद्धि पनि हासिल गर्न सकिन्छ ।

० अहिले काठ जसलाई चाहिएको हो त्यसले पाइरहेको छैन, तर तस्करहरूले तस्करी गरेर रातारात लगिरहन्छन् । स्थानीय उपभोक्ताहरूले उपभोग गर्न नपाउने, ढलापडा काठ पनि विभिन्न झन्झटिलो प्रक्रियाका कारणले कतिपय ठाउँमा उपयोग हुन पाइरहेको छैन । तर तस्करहरूले चाहिं हरियै रुख काटेर रातारात तस्करी गरिरहेका छन्, जसका कारणले पर्यावरणलाई समेत असर पार्दछ । अबचाहिं चाइनाको झैं पर्यावरणको संरक्षण गर्ने नीति लिनुपर्ने हो कि ?

‘कन्जरभेसन फर अ डेभलपमेन्ट’ हुनुपर्छ । संरक्षण भयो भने विकास आफैं हुन्छ । हामीले विद्युत्, सोलार प्रशस्त पायौं भने त जंगलमा दाउरा लिन को जान्छ ? कन्जरभेसन त गरिबी र एक–अर्कासँग गाँसिएको चिज हो । जब गरिब छ, ऊ दाउरा लिन जाने हो, राति वा दिउँसो । त्यसैले चाइनाले जुन मोडेल ‘डेभलप’ ग¥यो, त्यसलाई हामीले पनि अनुशरण गर्नुपर्छ जस्तो लाग्छ मलाई ।

० तपाईं जिल्ला वन कार्यालय उदयपुरमा आइसकेपछि गरिएका तर जनताले थाहा नपाएका केही कुराहरू छन् ?

यहाँ हामीले केही कुराहरू गरेका छौं । यहाँ त्रियुगामा लाश पु¥याइसकेपछि मान्छेहरू दाउरा खोज्न जानुपर्ने अवस्था थियो । हामीले फेको वनको समन्वयमा दाहसंस्कारका लागि दाउराको व्यवस्थापन गरेका छौं । केही खोला किनारहरूमा ‘हरित बेल्ट’ बनाउने कोशिश गरेका छौं । मलाई आत्मसन्तुष्टि भएको एउटा प्लान्टेशनको कुरा गरिसकें, २० हेक्टर भनेको एउटा साहै्र ठूलो क्षेत्रफल हो, त्यो महाभारत सामुदायिक वनमा हो । त्यहाँका जनताहरूलाई हामीले कन्भिन्स गर्न सफल भयौं र उहाँहरूले ‘ओनरसिप’ लिनुभएको छ । त्यहाँ धेरै विद्यार्थीहरू पनि आएका थिए । हामीले वातावरण दिवस पनि त्यहीं मनायौं वृक्षारोपण गरेर । त्यो एउटा राम्रो उपलब्धि भएको छ यस वर्षको ।

प्रकाशित समय २२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु