prabhu-bank-final-ecrosscheck

सबैतिर बिगार्ने एउटा अदृश्य शक्ति छ

युवराज मैनाली साहित्यको क्षेत्रमा नयाँ नाम होइन । उहाँले लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँका करिब आधा दर्जन साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् । उहाँ हालैमात्र भैरव प्रतिभा पुरस्कारबाट पुरस्कृत पनि हुनुभएको छ । साहित्यकारमात्र होइन, निजामति प्रशासनका एक हस्ति हुनुहुन्छ, मैनाली । हाल उहाँ इलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख हुनुहुन्छ । हालैमात्र भैरव प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनुभएका मैनालीसँग टंक कार्कीले साहित्य तथा निजामति सेवाको ‘पेरिफेरी’मा रहेर गरेको कुराकानीको सम्पादित अंश ।

० तपाईंको पृष्ठभूमिका बारेमा बताइदिनोस् न ?

मेरो जन्म २०१७ साल चैत्र १० गते काभे्रपलाञ्चोक जिल्लाको कानपुर भन्ने ठाउँमा जन्म भएको हो । मेरो बुबाको नाम स्व.केदारनाथ मैनाली र आमा स्व. देवकी मैनाली हो । मेरा दाजुभाइ ८ जना र दिदीबहिनी ३ जना हुनुहुन्छ ।

० तपाईंको परिवारका सबैजसो सदस्यहरू निजामति क्षेत्रमा हुनुहुन्छ भन्ने सुनिन्छ नि ?

निजामति क्षेत्रमा चाहिं हाम्रो एउटै घरको तीनजना सचिव हुनुभयो । नेपालको इतिहासमै एउटै आमाका तीनजना छोरा एकैचोटी सचिव भएको परिवार मेरो पनि हो । परिवारमा चारजना सचिव भएको परिवार पनि मेरै हो । मेरो कान्छो बुबा शशिकान्त मैनाली पनि सचिव हुनुभएको थियो, जो बित्नु भइसक्यो । त्यसपछि श्यामप्रसाद मैनाली, लोकसेवा आयोगको अध्यक्ष उमेश मैनाली र मेरो भाइ गोपी मैनाली जो अहिले भूमिसुधार तथा व्यवस्था सचिव हुनुहुन्छ । लगभग मेरा घरका सबैजना निजामति सेवामा हुनुहुन्छ ।

० तपाईं पनि अहिले निजामति सेवामा हुनुहुन्छ, तपाईं प्रमुख जिल्ला अधिकारी भएर पनि काम गर्नुभयो, अहिलेचाहिं कहाँ हुनुहुन्छ ?

अहिले गृहमन्त्रालयअन्तर्गत इलाका प्रशासन कार्यालय फर्पिङमा कार्यरत छु । पहिला लमजुङमा प्रमुख जिल्ला अधिकारी थिएँ । त्यहाँबाट यहाँ सरुवा भयो ।

० तपाईंको साहित्यिक यात्राको शुरुवात कहिले र कसरी भयो ?

साँच्चै भन्ने हो भने मेरो साहित्यिक लेखन त २०३२ सालतिरै हाइस्कूल लेभलबाटै शुरु भएको हो । त्यतिखेर विभिन्न अतिरिक्त क्रियाकलापहरूमा मैले भाग लिन्थें । त्यसबाट कविता, कथाहरू लेख्थें र म पुरस्कृत पनि भएको थिएँ । वक्तृत्वकला प्रतियोगितामा पनि म पुरस्कृत भएको थिएँ । र, त्यसबाट अलिकति पे्ररित भएर साहित्य लेखें र २०४५ सालदेखि म अनवरतरुपमा साहित्य लेखनमा छु । २०३७ सालमा ‘मुर्दा बोल्यो’ भन्ने कथासंग्रहबाट कृतिगतरुपमा मैले पाइला चालेको हुँ ।

० अहिलेसम्म कुन–कुन विधामा कतिवटा पुस्तक प्रकाशित गर्नुभयो ?

मैले ‘मुर्दा बोल्यो’ (कथा संग्रह–२०३७), त्यसपछि ‘केही प्रतिभा केही प्रवृत्ति’ भन्ने बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, लैनसिङ बाङ्देल, विजय मल्ल, पारिजात, रमेश विकल, धिरेन्द्र मल्ललगायतका दशजना साहित्यकारहरूको प्रवृत्ति, नयाँ पुराना कृति र कृतिकारका रुपमा प्रमुख प्रवृत्ति र त्यस कृतिको विश्लेषण गरिएको पुस्तक २०४२ सालमा प्रकाशित भयो । त्यसपछि २०६५ सालमा ‘भ्रष्टाचारको भाङ’ भन्ने हाँस्य व्यंग्यसंग्रह प्रकाशित भयो । त्यसपछि समको प्रल्हाद नाटकमा केन्द्रित भएर ‘समको पौराणिक नाट्य कौशल’ भनेर बालकृष्ण समको समग्रतालाई लिएर प्रकाशित भएको सम्भवतः यो पहिलो कृति हो । त्यसपछि महाकवि देवकोटाको महाकाव्यको विषयमा केन्द्रित भएर ‘कवियोगी देवकोटा महाकाव्यको विश्लेषण’ भनेर २०७० सालमा लेखेको हुँ । अहिले लघु कथामा बेग्लै शैली, पृथक शैली र एउटा परम्पराभन्दा भिन्नै शैलीमा एउटा कथा लेखेको जस्तो लाग्छ, त्यो कथा संग्रह ‘पृथक बाटो’ भन्ने तन्नेरी प्रकाशनबाट निकट भविष्यमै आउँदैछ । अहिलेसम्म पाँचवटा प्रकाशित र एउटा अप्रकाशित छ । मेरा समालोचनाहरू पनि निकै छैन ।

० साहित्यिक क्षेत्रमा लागेका मानिसको जीवन आर्थिकरुपमा सबल हुन मुश्किल हुन्छ भनिन्छ, यहाँलाई कस्तो लाग्छ ?

हुन त मान्छेहरू २० हजार बिक्यो, २५ हजार बिक्यो भन्छन् तर मलाई त्यस्तो लाग्दैन । त्यसरी बिक्ने भएको भए कसले सरकारलाई कति कर बुझायो र कुन पे्रसले बढी छाप्यो, त्यो थाहा पाउनुपर्ने हो । तर मेरो विचारमा त्यत्रो किताब अहिले बिक्री भएको जस्तो मलाई लाग्दैन । त्यसैले साहित्यकारहरूको जीवन आर्थिकरुपमा धेरै सबल हुन्छ भन्न सकिंदैन ।

० साहित्यका पाठकहरूचाहिं कत्तिको छन् ?

अहिले साहित्यका पाठकहरूभन्दा लेखक बढी भए । जान्ने–नजान्ने सबैले किताब लेख्न थाले । किताब निकाल्ने होड जुन बाढी जस्तो भयो । जे लेखे पनि साहित्य हुने भएको हुनाले साहित्य र साहित्यकार शब्द नै अलिकति उपेक्षा भएको जस्तो मलाई लाग्छ ।

० शब्दकोशमै नभएका शब्दहरू पनि साहित्यकारहरूले प्रयोग गर्छन्, जुन महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि गर्नुभएको देखिन्छ, त्यस्ता कुराहरू कसरी ल्याइए र प्रयोग भए, जुन शब्दकोशमै छैनन् ?

शब्दकोशमा त सबै कुरा नहुन पनि सक्छ । तर प्रयोग भइरहँदा त्यो शब्दकोशमा रहने भयो ।

० नेपाली साहित्यलाई विश्वसामु चिनाउने प्रयत्नहरू भएका छन् कि छैनन् ?

अहिले पनि हामी साहित्यको कुरा गर्दा सम, देवकोटा, लेखनाथ, माधव घिमिरे, भूपि, रिमालकै कुरा गर्छौं । अब यसरी हेर्दा कवितामा त्यस्तो भयो भने कथामा गुरुप्रसाद मैनाली, भवानी भिक्षु, रमेश विकल, गोठाले, विजय मल्लकै कुरा गर्छौं र जब–जब हाँस्य व्यंग्यको कुरा आउँछ, फेरि भैरव अर्यालतिरै पुग्छौं । भन्न खोजेको के भने त्यसरी एउटा प्रवृत्ति नै परिवर्तन गरेर जुन एउटा प्रतिनिधित्व लिएर त्यस्तो खालको जाज्वल्यमान किसिमको प्रतिभा लिएर अहिले कोही आएको छैन । तर अब धेरै प्रतिभा भएका मानिसहरूलाई बाहिर आउन दिएका पनि छैनन् । अहिले एउटा ठूलो लेखनभन्दा फेशन, देखाउने प्रवृत्ति, हल्ला गर्ने प्रवृत्ति, मिडियाहरू हात लिएर आफू अगाडि बढ्ने र पुरस्कार, सम्मान पनि त्यस्तै किसिमले एउटा ‘सिण्डिकेट’ जस्तो छ । लेखकहरू छन् राम्रो तर के भने एउटा गलत प्रवृत्तिले गर्दाखेरि त्यो राम्रो, सङ्लो पानी पनि बाढीमा धमिलो भइराखेको अवस्था हो । तर विश्व साहित्यको सन्दर्भमा चाहिं ‘ग्लोबलाइजेशन’को कारणले हामी नेपालीहरू पनि विश्वमै पुगेको अवस्था हो । नेपाली साहित्य पनि विभिन्न भाषामा अनुवादित भएको छ, त्यसले गर्दाखेरि नेपाली साहित्यका किताबहरू विश्व बजारमा पनि केही पुगेका छन् ।

० केही समयअगाडि नेपालको समग्र भाषा प्रणालीलाई ध्वस्त बनाउने अभियान प्रज्ञा प्रतिष्ठानबाटै भएको थियो, यो कसरी ’इन्जेक्ट’ भयो र कसले छिरायो त्यहाँ भन्ने तपाईंलाई लाग्छ ?

तत्कालिन शिक्षामन्त्री दिनानाथ शर्माले नै यो मलाई पनि थाहा नदिइकन सही गराए भन्ने कुरो छ । ‘भाषा बचाऊ अभियान’मा म पनि एउटा आजीवन सदस्य भएको हुनाले त्यो हेर्दाखेरी प्रा.डा.खगेन्द्र लुइँटेललगायतका मान्छेहरूले त्यसको नेतृत्व गर्नुभएको छ । यहाँ सबैतिर बिगार्ने एउटा अदृश्य शक्ति छ, त्यसले नेपाली भाषालाई ‘कोश’मा नराख्ने र भाषालाई बिगार्ने, भाषाको परम्परागत मूल्य–मान्यतालाई नष्ट गर्ने किसिमले एकेडेमीलाई नै प्रयोग गरेको हो ।

० नेपाली भाषामाथिको आक्रमण भनेको नेपाल देशमाथिको आक्रमण हो भन्ने तपाईंलाई लाग्दैन, जसरी हिन्दू धर्मलाई ध्वस्त बनाइयो ?

धर्मलाई नष्ट गरेको जस्तै भाषालाई नष्ट गरेर नेपाली भाषाको अस्तित्व समाप्त गर्ने किसिमको दुष्साहस हो यो । भाषा बचाऊ आन्दोलनले आन्दोलन गरेर नै नेपाली भाषालाई पुरानै अवस्थामा ल्याउन बाध्य गराइयो । यसलाई हामी सफलता नै मान्छौं ।

० भाषा साहित्यका बारेमा अरु केही भन्न मन लागेको छ ?

भाषा–साहित्यमा अहिले लेख्ने स्तरीयता कम भयो । अरुको पढ्ने प्रवृत्ति कम भयो । अरुको पढेपछिमात्र त्यसमा कति दम छ भन्ने थाहा हुन्छ । अरुको पढ्ने र आफूले पृथक किसिमको अनुहारमा लगियो भनेदेखि साहित्य सशक्त हुन्छ । सबैले सबैको पढ्नुप¥यो, हेर्नुप¥यो ।

० अब अलिकति प्रसंग बदलौं, तपाईं कति सालदेखि निजामति प्रशासनमा प्रवेश गर्नुभयो ?

मैले २०३७ साल मंसिर १९ गतेबाट निजामति सेवामा प्रवेश गरेको हुँ ।
० तपाईंले पञ्चायती व्यवस्था, २०४७ सालदेखिको संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था र २०६२÷०६३ पछिको गणतान्त्रिक व्यवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
पञ्चायती कालमा अलि मन्द थियो । त्यसमा व्यवस्थाको, राजाको अलिकति पनि कतैबाट विरोध भयो वा विरोधजस्तो देखियो भने सफाईको मौका नदिइकन जागिरबाट बर्खास्त गर्नेसम्मको स्थिति थियो । २०४६ को प्रजातन्त्रपछि कर्मचारीहरू अलि संगठित भए । संगठन, युनियनहरू भए । तर पहिला चाहिं कार्यालय प्रमुखहरूलाई मान्ने, अनुशासनका हिसाबले निकै दरो थियो । अहिले कार्यालयमा हाकिमहरूलाई पहिलेजस्तो मान्दैनन् । अनुशासन मजबूत छैन । अहिले कर्मचारी युनियनहरू भ्रातृ संगठनजस्तो भएकोले अलिकति फरक हुन गयो ।

० व्युरोक्रेसीमा हरेक राजनीतिक दलका भ्रातृ संगठनहरू बनाउनु राम्रो कुरा हो र ?

त्यो आवश्यकै छैन । एउटै आधिकारिक ट्रेड युनियन छ । त्यो आधिकारिक ट्रेड युनियन भएमात्रै पनि पुग्छ । निजामति कर्मचारीमा रहेका ड्रेड युनियनहरूलाई राजनीतिक दलका आबद्ध हुने, नेतागिरी गर्ने र निजामतिको क्षेत्रमा काम नगरी बस्ने छुट दिइनु हुँदैन ।

० विश्वका कतिपय मुलुकमा कर्मचारी ट्रेड युनियनमा लागेका मानिसहरूको जीवनभर सरुवा–बढुवा नहुने हुन्छ, तर यहाँ त आधिकारिक ट्रेड युनियनकै नेतृत्वमा बसेकाहरू सरुवा बढुवाको खेलमा लाग्ने, आफ्नो चाकडी चाप्लुसी गर्ने कर्मचारीहरूलाई मालदार ठाउँमा सरुवा गराएर कमिशन खाने, चाकडी नगर्ने र इमान्दारीपूर्वक काम गर्ने कर्मचारीहरूको उचित मूल्यांकन नगर्ने खालका गतिविधिमा संलग्न छन् भन्ने व्यापक गुनासो सुनिन्छ नि ?

त्यो कुरा केही सत्य पनि हो । गुनासो व्यापकरुपमा सुनिन्छ । त्यसो हुनुहुँदैन भन्ने मेरो मान्यता छ । अब निजामति प्रशासनमा पनि व्यापक सुधार हुनुपर्छ ।

० मुलुकमा संघीयता कार्यान्वयनमा आइरहँदा कर्मचारीहरू खटाएको ठाउँमा नजाने, भनेको नटेर्ने, हिजोकै ढर्रामा पुरानै संस्कारले काम गर्ने भन्ने कारणले एकदमै अन्यौलता बढेको भनिन्छ नि निजामति प्रशासनमा ?

पहिले पनि जिल्लातिर, दूर्गमस्थानतिर पठाउँदा केही मान्छेहरू नजाने गर्दथे । कोही–कोही बाहेक कर्मचारीहरू भनेको ठाउँमा जान्छन् । २०६२÷०६३ को आन्दोलनमा धेरै कर्मचारीहरू पनि संलग्न थिए । तर के हो भनेदेखि जनप्रतिनिधिहरूले पनि कर्मचारीलाई होच्याउनु भएन । कर्मचारी आउने वातावरण बनाइदिनुप¥यो । निजामति कर्मचारी राजनीतिक नेताहरूको सहयोगी हो, त्यसबाट चाहिं डराउनुपर्ने, आत्तिनु पर्दैन ।

० अन्त्यमा केही भन्नुहुन्छ ?

साहित्यमा कसले के ग¥यो, कति ग¥यो भनेर हेरिएको छैन, त्यो हेरिनुपर्छ । र अन्त्यमा मेरा कुराहरू तपाईंको सञ्चारमाध्यममार्फत् आम पाठकसामु पु¥याउने मौका दिनुभएकोमा धेरै–धेरै धन्यवाद ।

प्रकाशित समय ०९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु