prabhu-bank-final-ecrosscheck

लघुवित्त सेवाको प्रभाव र नेपाली अर्थतन्त्रमा यसको भूमिका

लघुवित्तीय सेवाको संस्थागत विकासको शुरुवात सन् १९७० को दशकमा दक्षिण एसियाली राष्ट्र बंगलादेशबाट भएको पाइन्छ । बंगलादेशमा बिना धितो कर्जाबाट शुरुवात गरिएको लघुवित्त सेवा हाल ग्रामीण बैकिङ्ग पद्धतिको अवधारणाको रुपमा संसारभर प्रचलित छ । सामान्य अर्थमा गरिब समुदायलाई प्रदान गरिने सानोस्तरको वित्तीय सेवालाई लघुवित्त भन्ने गरेको पाइन्छ । विस्तृतरुपमा विपन्न र पिछडिएका वर्गहरूबाट उठाइने बचत, प्रवाह गरिने कर्जा, तिनीहरूको व्यवसायमा गरिने बीमा र कमाईको हस्तान्तरणलाई लघुवित्तको रुपमा परिभाषित गरिएको पाइन्छ ।
एसियाली विकास बैंकले विपत्र वर्गका घर परिवार र उनीहरूका लघु व्यवसायलाई प्रदान गरिने लघुकर्जा (विना धितो) लघु बचत, लघु बीमा र लघु रकम हस्तान्तरणलाई लघुवित्त सेवाको रुपमा परिभाषित गरेको छ । त्यसैगरी बैंकलाई आवश्यक सुरक्षण दिन नसक्ने, पिछडिएका वर्ग, दुर्गम स्थान तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने घर परिवार र उनीहरूका लघु व्यवसायलाई प्रदान गरिने विना धितो कर्जालाई लघुकर्जाभित्र समेटिएको पाइन्छ । यसर्थ स्थानीय स्तरमा उपलब्ध साधन र स्रोतमा आधारित भई गरिब र पिछडिएका वर्गलाई आवश्यकताअनुसार लघुकर्जामार्फत् बैकिङ्ग सेवा पु¥याउनु नै लघुवित्त हो भन्न सकिन्छ ।
लघुवित्तको परिभाषा, विभिन्न मुलुकको आर्थिक स्तर र वित्तीय स्रोतको आवश्यकताको अवस्था अनुसार फरक पनि हुने गरेको पाइन्छ । सामान्यतया दुर्गम, पिछडिएका स्थानमा बसोबास गर्ने समाजका गरिव, दलित र विशेष गरी महिला समूहमा आयआर्जन गर्न, रोजगारी तथा साक्षरता निर्माण गर्न सहयोग पुग्ने गरी लघुवित्त संस्थाहरुबाट दिइने सेवालाई लघुवित्तअन्तर्गत राख्न सकिन्छ । समग्रमा पिछडिएका वर्ग तथा गरिबहरुमा केन्द्रित भई प्रदान गरिने सानो आकारको वित्तीय सेवालाई लघुवित्त सेवा मान्न सकिन्छ ।

लघुवित्तको अर्थतन्त्रमा प्रभाव सम्बन्धमा केही अध्ययन समीक्षा
अर्थतन्त्रको एउटा प्रमुख चुनौती स्रोत र साधनहरुको उचित बाँडफाँड हो । यस सन्दर्भमा लघुवित्त सेवालाई गरिब र न्यून आय भएका मानिसहरुको स्रोत तथा साधनमा पहँुच बढाई अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमा उनीहरुको सहभागिता बढाउने माध्यमको रुपमा लिने गरिन्छ । लघुवित्त सेवा अर्थतन्त्रको विभिन्न पक्षहरुसँग प्रत्यक्ष वा परोक्षरुपमा गाँसिएको हुन्छ ।
विभिन्न अध्ययनले लघुवित्त सेवा प्राप्त गर्ने घरपरिवारको आर्थिक तथा सामाजिक अवस्थामा सकारात्मक सुधार भएको देखाएका छन् । लघुवित्त सेवा प्राप्त गर्ने घरपरिवारको रोजगारीको अवसर सृजना भई आयआर्जनमा सकारात्मक प्रभाव पर्ने र न्यून आय उच्च गरिबी रहेका कम विकसित देशहरूमा खाद्यान्न, शिक्षा, स्वास्थ, आवास, खानेपानी र उपभोगमा सकारात्मक प्रभाव पर्ने गरेको पाइएको छ । फिलिपिन्समा लघुवित्त सेवा प्रदान गर्ने २८ संस्थाहरुबाट लाभान्वित २२०० घरपरिवारमा गरिएको अध्ययनले लघुवित्त सेवा प्राप्त गर्ने घर–परिवारको रोजगारी, प्रतिव्यक्ति आय, घर–परिवारको खाद्यान्नमा हुने खर्च, शिक्षाको स्तर, घर–परिवारमा प्रयोग हुने सामाग्री तथा स्थिर सम्पत्ति सञ्चयमा सकारात्मक प्रभाव परेको देखाएको छ । त्यसैगरी बंगलादेशमा १०७२ घरपरिवारमा गरिएको अध्ययनले लघुवित्त सेवा लिनु भन्दा अघिको तुलनामा लघुवित्त सेवा लिएपछि घरपरिवारको गरिबी, महिलाको रोजगारी र सम्पत्ति सञ्चय गर्ने प्रवृत्तिमा सकारात्मक प्रभाव परेको देखाएको छ ।
इथियोपियामा ६१९ घरपरिवारमा ६० महिनासम्म र १२ महिना लघुवित्त सेवा लिएका घरपरिवारहरु बीच गरिएको अध्ययनमा १२ महिना लघुवित्त सेवा लिएका घर–परिवारहरुको तुलनामा ६० महिनासम्म यस्तो सेवा लिने घर–परिवारमा खाद्य सुरक्षा, स्वस्थ्य, शिक्षा, बासस्थान तथा सशक्तिकरणमा सकारात्मक प्रभाव परेको देखिएको छ । लघुवित्तले मूलतः आयस्तर सुधार गरी आर्थिक वृद्धिमार्पmत् समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको हुन्छ । विपत्र तथा पिछडिएका वर्गका घरपरिवारहरुको वित्तीय सेवाको मागलाई मूलधारका वित्तीय संस्थाहरूबाट पर्याप्त मात्रामा सम्बोधन गरेको पाइँदैन । तर लघुवित्त सेवामा पहुँच बढेमा साना तथा घरेलु उद्योगहरुको विकास गरी आर्थिक वृद्धिमा सहयोग पुग्ने देखिन्छ ।

नेपालमा लघुवित्त सेवाले आर्थिक तथा सामाजिक क्षेत्रहरुमा पार्न सक्ने प्रभाव
कृषि क्षेत्र : नेपालको अधिकांश भूभाग ग्रामीण रहेको छ । ग्रामीण क्षेत्रमा बस्ने धेरैजसो जनता कृषि पेशामा संलग्न छन् । कृषि क्षेत्रको देशको कूल गार्हस्थ्य उत्पादनमा योगदान करिब एक तिहाई रहँदै आएको छ । नेपालको बढ्दो जनसख्यालाई जीविकाको आधार दिने, खाद्यान्न आपूर्ति गर्ने, घरपालुवा जनावरहरुलाई खाद्यान्न तथा घाँसपात उपलब्ध गर्ने, कृषिजन्य उद्योग धन्धालाई कच्चापदार्थ उपलब्ध गराउने, निर्यात व्यापार विस्तार गर्ने, आन्तरिक व्यापार वृद्धि गर्ने, आयात प्रतिस्थापन गर्ने जस्ता कार्य कृषि क्षेत्रबाट भइरहेकोले लघुवित्तलाई कृषि क्षेत्रमा प्रभावकारी रुपमा विस्तार गर्न सकेमा अधिकतम लाभ लिन सक्ने देखिन्छ ।
औद्योगिक क्षेत्र : ग्रामीण गरिबी घटाउन, अत्यन्त गरिव समुदाय, वर्ग, क्षेत्र एवम् जातजातिलाई लघुवित्तमार्फत् लघु उद्यमीका रुपमा विकास गर्न सके त्यस्ता व्यक्ति तथा समुदायको आर्थिक स्थितिमा सुधार आउने देखिन्छ । स्थानीय स्तरमा संचालन हुने लघु उद्यमहरुबाट सृजना हुने रोजगारी दिगो पनि हुन्छ । विश्वका थुप्रै देशहरुले लघुवित्तमार्फत् साना तथा घरेलु उद्योगहरुको विकास गरी आर्थिक विकास गरेका उदाहरणहरु छन् । नेपालमा समेत सम्भाव्यताको अध्ययन गरी उपयुक्त नीति अवलम्वन गरिएमा यस क्षेत्रबाट बढी लाभ लिन सकिने देखिन्छ । आर्थिक सर्वेक्षण, २०७२ अनुसार नेपालका विभिन्न जिल्लाहरुमा युनाइटेड नेशन्स डेभलपमेण्ट प्रोजेक्ट (युएनडिपी)को सहयोगमा करिव ३१ हजार व्यक्तिलाई लघु उद्यमीको रुपमा विकास गरिएको तथ्यांकले देखाउँदछ । मुख्यतया यस्ता कार्यक्रम महिला, आदिवासी, जनजाति, दलित, मधेशी, पिछडिएको वर्ग र क्षेत्रमा लक्षित गर्न सके अझ बढी प्रभावकारी तथा नतिजामूलक हुन सक्ने देखिन्छ ।
उर्जा क्षेत्र : देशका अधिकांश ग्रामीण क्षेत्रका जनता हालसम्म पनि अँध्यारोमा जीवन यापन गरिरहेका छन् । यस्तो अवस्थामा लघुवित्त संस्थाहरुले ग्रामीण जनसहभागितामा सामुदायिक ग्रामीण विद्युतीकरणमा केही हिस्सा लगानी गरेमा उत्पादित विद्युत ग्रामीण क्षेत्रका विपन्न तथा पिछडिएका वर्गमा वितरण हुने र प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा विकासमा सहयोग पुग्ने देखिन्छ । स–साना खोलानालाबाट सानै परिमाणमा भए पनि धेरै संख्यामा विद्युत उत्पादन हुन सकेमा यसले स्थानीयस्तर तथा राष्ट्रियस्तरको विद्युतको मागलाई केही हदसम्म पूरा गर्न सक्छ । लघुवित्तमार्फत् ग्रामीण तथा स्थानीय स्तरका खोलानालाबाट सामूहिक जनसहभागितामा समूहगत कर्जाबाट लघु जलविद्युत उत्पादन गर्न सकिन्छ । यसबाट ती क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा सहयोग पुग्ने देखिन्छ ।
वन एवम् जडीबुटी क्षेत्र : नेपालमा प्रशस्त जडीबुटीहरु छन् । स्थानीय सर्वसाधारणमा उचित ज्ञान र स्रोत (वित्तीय स्रोत) नभएका कारण त्यस्ता जडीवुटीहरु उपयोगमा ल्याउन सकिएको छैन । जडीवुटी खोज्न गएका मानिसहरु खाने र बस्ने साधनको पहँुच नभएका कारण ज्यानै जाने घटनाहरु समेत घटेका छन् । पहाडी तथा हिमाली क्षेत्रमा लघु कर्जाको सदुपयोग गरी जडीवुटी संकलन केन्द्रमार्फत् यस क्षेत्रलाई प्रभावकारी बनाउन सकिन्छ । खाद्य सामाग्री तथा लत्ता कपडा र औषधिमूलो सहित जडीवुटी खोज्ने तालिमको व्यवस्था हुन सके यस क्षेत्रले प्रचुर मात्रामा आम्दानी गर्नसक्ने देखिन्छ । यसबाट गरिबी र रोग भोकसँग लडिरहेका जनतालाई रोजगारीको अवसरसमेत सृजना हुन सक्ने देखिन्छ ।
सामाजिक क्षेत्र : लघुवित्तले गरिब तथा पिछडिएका वर्ग, जाति तथा क्षेत्रमा सामूहिक एवम् व्यक्तिगतरुपमा सम्भव भएसम्म विना धितो वित्तीय सेवा उपलब्ध गराउने हुँदा यस्ता समुदायका माध्यमबाट चेतनामूलक कार्यक्रमसमेत अगाडि बढाउन सकिन्छ । त्यस्ता चेतनामूलक कार्यक्रममा हुने समूहगत छलफल र प्रयत्नबाट समाजमा देखिने बहुविवाह, बालबिवाह, चेलीबेटी बेचविखन, मदिरापान, धुम्रपान जस्ता विकृतिहरुलाई नियन्त्रणमा ल्याउन सघाउ पुग्ने देखिन्छ । उदाहरणका लागि लघुवित्त संस्थाबाट कर्जा लिएकी एकजना महिलाको श्रीमान्ले अर्को विवाह गर्न लागेको चाल पाएमा आफ्नो कर्जा समूहमा छलफल गराई वहुविवाहमा लागि परेका आफ्नो श्रीमान्लाई रोक्न सक्छिन् । यस्तै प्रकारले वालविवाह, चेलीवेटी बेचविखन तथा मदिरापान एवम् धुम्रपानमा समेत सामाजिक क्षेत्रका विकृति कम गर्न लघुवित्त प्रभावकारी हुनसक्ने देखिन्छ ।
पर्यटन क्षेत्र :  नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र महत्वपूर्ण मानिन्छ । भौगोलिक, जैविक एवम् जातीय विविधता एवम् स्वच्छ, रमणीय मनमोहक प्राकृतिक सोन्दर्यताले भरिपूर्ण तथा विभिन्न धार्मिक स्थल तथा पर्यटकीय स्थलहरुको प्रचुरताले गर्दा नेपालमा पर्यटन विकासको राम्रो सम्भावना रहेको छ । नेपालमा पर्यटन क्षेत्रलाई तुलनात्मक लाभ भएको क्षेत्रको रुपमा समेत लिने गरिन्छ । यस क्षेत्रको राम्रो विकास गर्नसके मुलुकको समग्र आर्थिक समुन्नतिको लागि विदेशी मुद्रा आर्जन तथा रोजगारीको अवसर वृद्धि गर्न सक्ने सम्भावना छ । तथापि, न्यूनतम पूर्वाधार समेतको अभावमा यस क्षेत्रबाट पर्याप्त लाभ लिन सकिएको छैन । पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास गर्न लघुवित्त सेवा अति उपयोगी तथा प्रभावकारी साधन हुनसक्ने देखिन्छ । ग्रामीणस्तरमा रहेका पर्यटकीय स्थलको विकास स्थानीय संस्कृतिको संरक्षण गर्न थोरै लगानीबाट नै सम्भव देखिन्छ ।
पर्यटन क्षेत्रको अध्ययनले नेपाल आउने अधिकांश पर्यटकहरु मनोरञ्जन र पदयात्रा तथा पर्वतारोहणका लागि आउने गरेको पाइएको छ । नेपालमा पदयात्रा गर्ने स्थानहरुमा गुणस्तरीय होटल, रेष्टुरेण्टहरुको राम्रो ब्यवस्था नहुनुमा एक प्रमुख कारण पूँजी अभाव रहने गरेको सन्दर्भमा लघुकर्जामार्फत् त्यस्ता पर्यटकहरुलाई लक्षित गरी पदयात्रा गर्ने स्थानहरुमा स्थानीय स्तरमा होटल, रेष्टुरेण्ट तथा भौतिक मनोरन्जन गर्नसक्ने किसिमका कार्यक्रमहरु सञ्चालनमा ल्याउन सके त्यस क्षेत्रका मानिसको आम्दानी बढ्नसक्ने देखिन्छ । त्यसैगरी नेपाललाई पहिचान गराउने स्थानीय कलात्मक उत्पादन तथा बेचविखनबाट विदेशी मुद्रा आर्जन र रोजगारीमा वृद्धि हुन सक्छ ।
(थापा नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक हुन्)
– ठोक्शिला दर्पण साप्ताहिकबाट

प्रकाशित समय २१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु